कांग्रेसमा फेरि अर्को विवाद, पौडेलपक्षको चेतावनीपछि बैठक स्थगित

news

सरोज अधिकारी/कबिर महर्जन (इमेज)

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघभित्र ३२ वर्षे उमेर हदबन्दी कायम गर्ने विषयमा चर्किएको विवादले पार्टी केन्द्रीय समिति बैठक नै स्थगित भएको छ ।

सामान्यजस्तो लाग्ने विषयमा देखिएको विवाद बैठक बहिस्कारसम्म पुगेपछि कांग्रेस विवाद फेरि छताछुल्ल अवस्थामा पुगेको छ ।

नेपाल विद्यार्थी संघभित्र ३२ वर्षे उमेर हदबन्दी लगाउनुपर्ने पक्षमा सभापति शेरबहादुर देउवापक्षका नेता थिए भने बाँकी त्यसको विपक्षमा थिए ।

अन्ततः आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले ३२ वर्षे उमेर हदबन्दी कायम राख्ने निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखे । तर, यो विवाद यत्तिमै सीमित बनेन ।

वर्तमान चुनौती सामनाका लागि शीर्ष नेताहरुलाई एक हुन कार्यकर्ताबाट आइरहेको सुझावविपरीत फेरि एकपटक शीर्ष नेताहरु नै आमने–सामने भएका छन् ।

भ्रातृसंस्थाको विवादबाट सुरु भएको यो विवाद अब महासमिति बैठकसम्म पुग्ने खतरा देखिएको छ ।

सभापति देउवापक्षले पेलेर जान लागेको भन्दै पौडेलपक्षले बैठक बहिस्कारको चेतावनी दिएपछि बिहीबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

पौडेलपक्षीय नेता अर्जुननरसिंह केसी सभापतिले जबर्जस्ती विधि र प्रक्रियाविपरीत पेलेर जान खाजेकाले फरक बाटो रोज्न बाध्य भएको बताउँछन् ।

सभापति देउवापक्षीय नेता रमेश लेखक भने नेविसंघको उमेरहदका विषयमा भएको विवाद नोट अफ डिसेन्ट लेख्नुपर्नेखालको नभएको बताउँछन् ।

महाधिवेशनपछिको ठूलो महासमिति बैठकको पूर्वसन्ध्यामा रहेको कांग्रेसको पछिल्लो विवादले पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजानेभन्दा पनि गुटगत राजनीतिलाई नै प्रोत्साहित गर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया