च्यासल चुक्यो

news

काठमाडौं, असोज २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबले अंक बाँडेका छन् ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलको ७६औं मिनेटमा च्यासलले पेनाल्टी हान्ने अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । हेमन्त थापामगरको पेनाल्टी प्रहारलाई मच्छिन्द्रका गोलरक्षक दीप कार्कीले बचाएका थिए ।

खेलमा च्यासलले आधादर्जन गोल गर्ने अवसर खेरफालेको थियो ।

पाँच वर्षपछि गत असोज १३ गतेदेखि सुुरु भएको लिगको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एनआरटीले बराबरी खेलेका थिए । दोस्रो खेलमा संकटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गरेको थियो ।

बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपका लागि भन्दै लिग असोज १५ देखि २३ गतेसम्म रोकिएको थियो ।

असोज २६ गतेसम्म पहिलो चरणका खेल सकिइ चाडपर्वका नाममा लिग एक महिना रोकिनेछ ।

बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान ११ बजे थ्रीस्टार क्लब र फ्रेन्ड्स क्लब तथा दिउँसो ३ बजे नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् ।

त्यस्तै, शुक्रबार हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी तथा मनाङ–मर्स्याङ्दी र ब्रिगेड ब्वाइज क्लब खेल्नेछन् ।

लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौं हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

‘फेयर प्ले’ टिमले एक लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार दिनेछ । ‘म्यान अफ दी म्याच’ले १० हजार रुपैयाँ पाउनेछन् ।

लिगमा १४ टोलीको सहभागिता रहेको छ । एन्फाले यो वर्ष रेलिगेसनबिनाको लिग आयोजना गरेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया