निलम्बित प्रहरीमाथि थप कारबाही होला ? प्रमाण जुटाउनेक्रममा छौं : प्रहरी प्रवक्ता (भिडियो)

news

दीपक श्रेष्ठ/भरत केसी (इमेज)

काठमाडौं, असोज २४ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका निलम्बित प्रहरीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग उठेको छ ।

तत्कालीन एसपी डिल्लीराज विष्टलगायतका प्रहरीहरु र शंकाको घेरामा रहेका बम दिदी–बहिनीमाथि कारबाही अघि बढाउन राष्ट्रिय मानवअधिकार आयोगलेसमेत निर्देशन दिएको छ ।

निर्मला हत्याको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले कन्चनपुरको तत्कालीन प्रहरी टोलीमाथि गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ ।

यता, राष्ट्रिय मानवअधिकार आयोगले ‘तत्कालीन जिल्ला प्रहरी प्रमुख घटनास्थलमा आफैं उपस्थित नभइ आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले निजमाथि थप अनुसन्धान गर्नुपर्ने’ निर्देशन दिएको छ ।

आयोगले रोशनी र बबिता बमलाईसमेत शंकाको घेरामा राखेर अनुसन्धान गर्न सरकारलाई भनेको छ ।

यता, प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललेसमेत कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टले अनुसन्धानमा ध्यान नदिइ प्रमाणलाई नस्ट गरेर अनुसन्धान नै प्रभावित गराउने गैरकानुनी काम गरेको स्वीकारेका छन् ।

उनीहरुलाई निलम्बनमात्र गर्दा अनुसन्धान प्रभावित हुनसक्ने आशंका सर्वत्र गरिएको छ ।

तर, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्री भने उनीविरुद्ध यथेस्ट प्रमाण जुटेपछिमात्रै थप कारबाही अघि बढाउनसकिने बताउँछन् ।

प्रतिवेदनमा शंकास्पद भनिएका रोशनी बम र बबिता बम प्रहरी हिरासतबाट छुटेलगत्तै आफ्नो घर दार्चुला पुगेका छन् ।

उनीहरुलाई कन्चनपुर ल्याएर थप अनुसन्धान गर्नेतर्फ प्रहरीले कुनै चासो नदेखाएको आरोप पीडित पक्षले लगाउँदै आएको छ ।

अपराधमा संलग्न भएको ठोस प्रमाण नभेटिएसम्म थुनामा राख्न नमिल्ने वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की बताउँछन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया