भ्रष्टाचारीको पद र मुख केही हेर्दिनँ : प्रधानमन्त्री

news

नवीनराज कुइँकेल (इमेज)

भ्राताङ (मनाङ), असोज २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफूमाथि गरेको विश्वासलाई तलमाथि पर्न नदिने बताएका छन् ।

बिहीबार मनाङको ङिस्याङ गाउँपालिका–१, भ्राताङमा एग्रो मनाङ स्याउ फार्मको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा र विश्वासलाई फरक पर्न नदिने बताए ।

‘देशले मसँग विकासको अपेक्षा गरेको छ । सुशासनको अपेक्षा गरेको छ । भ्रष्टाचार नियन्त्रणको अपेक्षा गरेको छ’–उनले भने–‘जनताको यी विश्वास र अपेक्षालाई तलमाथि पर्न दिन्नँ ।’

मुलुकमा भ्रष्टाचार नियन्त्रणका कदम साथ थप प्रभावकारी ढंगले अघि बढाइने उनले बताए ।

भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भने–‘भ्रष्टाचारीको मुख हेरिँदैन । पद हेरिँदैन । ओहोदा हेरिँदैन । जुनसुकै तहको भएपनि कारबाही हुन्छ । यसमा सबै ढुक्क हुनुहोस् ।’

उनले उर्भर भूमि र साधन–स्रोत प्रयोग गरेर देशलाई समृद्ध बनाएरै छाड्ने अठोट व्यक्त गरे । देश समृद्ध र सुखी नेपाली बनाउन धेरै समय नलाग्ने उनको भनाइ थियो ।

‘अहिलेको सरकार जनताको सरकार हो । यसले जनताका निम्ति काम गर्छ । यहाँहरु ढुक्क रहनुहोस्’–प्रधानमन्त्री ओलीले भने ।

विकास गर्ने संकल्प लिएर अघि बढ्दा कुनै अभाव नहुने उनले उल्लेख गरे  । विकास गरेरै देशलाई धनी बनाउन सकिने उनले बताए ।

प्रधानमन्त्री ओलीले कृषिमा व्यावसायिक र आधुनिकीकरण गरेर समृद्धिको यात्रा अघि बढाउन सकिने पनि बताए ।

कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्नसकेमा आयात प्रतिस्थापन गरी निर्यायतलाई प्रवर्धन गर्नसकिने धारणा उनले व्यक्त गरे ।

मनाङ एग्रो फार्मले आयात प्रतिस्थापन र निर्यात व्यवस्थान गर्ने दिशाको सुरुआत गरेको उनको भनाइ थियो ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाललाई सँगै लिएर आएका प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षमा देशका चार जिल्लामा एक लाख उन्नत प्रजातीका स्याउका बिरुवा वितरण गर्न लागिएको जानकारी दिए ।

उनले मनाङसहित मुस्ताङ, जुम्ला र कालिकोटमा २५/२५ हजार बिरुवा वितरण गर्न लागिएको बताए ।

विदेशबाट बिरुवा खरिदका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसँगै मन्त्री खनाल, गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु मनाङ आएका थिए ।

सांसदको स्याउ फार्म

मनाङबाट निर्वाचत प्रतिनिधिसभा सदस्य पोल्देन छेपाङ गुरुङले ङिस्याङ गाउँपालिका–१, भ्राताङमा मनाङ–मर्स्याङ्दी क्लबको करिब ७३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिएर स्याउ फार्म सन्चालन गरेका हुन् ।

अहिले ४२५ रोपनीमा इटाली र सर्बियाबाट ल्याइएका ६७ हजार बिरुवा रोपिएको छ ।

चार वर्षदेखि सुरु गरिएको फार्ममा चालू वर्षसम्ममा ७३ हजार बिरुवा रोप्ने लक्ष्य छ । रोपिएका स्याउले दुई वर्षदेखि फल दिइरहेका जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया