चिनीको मूल्य तत्काल निर्धारण गर्न, पेट्रोल, ग्यासको आपूर्ति सहज बनाउन निर्देशन

news

काठमाडौं, असोज २५ । प्रतिनिधिसभाअन्तर्गत्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुनेगरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानुनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै, उखु किसानले चीन उद्योगीबाट पाउनुपर्ने बाँकी बक्यौता रकम तत्काल किसानलाई उपलब्ध गराउनसमेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

किसानले उखु बिक्री गरेबापत पाएका रकम र बाँकी रहेको रकमको यथार्थ विवरण समितिमा पठाउन आग्रह गरिएको छ ।

समितिले जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी कारखानाको जग्गालगायत भौतिक संरचनाको विवरणसमेत माग गरेको छ ।

उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने आधुनिक संयन्त्र निर्धारण गर्न, व्यापारीले अनिवार्य र विद्युतीय प्रक्रियाबाट बिल–बिजक जारी गर्नुपर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

उपभोक्तालाई गुणस्तरहीन र अखाद्य वस्तुको प्रयोगबाट जोगाउन आयात गरिने र नेपालमै उत्पादन गरिएका उपभोग्य वस्तुको गुणस्तर परीक्षण गरेरमात्र बिक्री–वितरणको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

चाडपर्वका समयमा दैनिक उपभोग्य सामग्रीमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउँदै समितिले खाद्यान्न, ड्राइफुड, फलफूल, माछामासुलगायत उपभोग्य वस्तुको अत्यधिक र अस्वाभाविक मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ ।

उपभोग्य वस्तु देशका सबै भू–भागमा सहुलियत दर र सरलरुपमा पुर्‍याउन र उपभोग्य वस्तुको आवश्यकताअनुसारको भन्डारको व्यवस्था गर्न तथा खाद्यान्नमा मिसावट, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी ठगी गर्नेमाथि अनुगमन गरी कडाभन्दा कडा कारबाही गर्नसमेत समितिले उद्योग, वािणज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गरेको छ ।

समितिले यसअघि सरकारी संयन्त्रबाट भएको बजार अनुगमनको प्रगति, आगामी कार्ययोजनासहितको सम्पूर्ण विवरण समितिलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।

चाडबाडअघि उपभोक्तालाई आवश्यक पर्ने खसीबोका, भेडा, च्यांग्रा, हाँस, कुखुराको व्यवस्थापनका पक्ष र मरेका पशुचौपायाको बिक्री–वितरण गर्ने कार्यमा तत्काल नियन्त्रण गर्न तथा पशुबधशालाको प्रभावकारी अनुगमन गरी त्यसको प्रतिवेदनसमेत समितिलाई उलब्ध गराउन निर्देशन दिइएको छ ।

ठूलो मात्रामा खाद्यान्नको कारोबार हुने चाडपर्वका बेला देशका विभिन्न भागमा पर्याप्त मात्रामा सहुलियत पसल खोली सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउन समितिले सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन, चाडबाडअघि मूल्यवृद्धि तथा मूल्य समायोजन नगर्नसमेत सरकारलाई निर्देशन दिइएको छ ।

भारतबाट आयात हुने चामल कम गुणस्तरको रहेको जनगुनासो आएको भन्दै समितिले उक्त गुणस्तरहीन चामलको परिणाम र आयातकर्ताको सम्पूर्ण विवरण १० दिनभित्र समितिलाई उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

समितिको बिहीबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत्का निकायको कार्यप्रगतिकाबारेमा छलफल भएको थियो ।

बैठकमा वाणिज्यसचिव चन्द्रकुमार घिमिरे, उद्योगसचिव यामकुमारी खतिवडा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईलगायतले सांसदले राखेका जिज्ञासाको जवाफ दिएका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया