उग्रतारा मन्दिरमा भक्तजनको घुइँचो, यस्तो छ किम्बदन्ती (भिडियो)

news

टेकराज अवस्थी

डडेल्धुरा, असोज २६ । प्रसिद्ध देवी शक्तिपीठ मध्येको डडेल्धुराको उग्रतारा मन्दिरमा यतिबेला भक्तजनको आकर्षण बढ्दै गएको छ । यस मन्दिरको दर्शन गरे सन्तान, सुख–शान्ति र समृद्धि प्राप्त हुने जनविश्वासका साथ दशैँको बेलामा दर्शनार्थीको विशेष घुइँचो देखिन्छ ।

डडेल्धुराकी भगवती उग्रतारा मातालाई मनोकामना देवीको रुपमा चिनिन्छ । सदरमुकामबाट करिब ५ किलोमिटरको दुरीमा अमरगढी नगरपालिकास्थित उग्रतारा मन्दिर अग्लो डाँडामा अवस्थित छ । महाअष्टमी र विजयादशमीको दिन महिषासुरको रुप मानी राँगोको बली दिने चलन छ । अन्य समयमा पनि भाकल गर्नेहरुले बोकाको बली दिने गर्दछन् ।

त्यसका अलावा यस मन्दिरमा नियमित पूजापाठ आरती र वेदअध्ययन अध्यापन लगायतका कार्यले मन्दिरको वातावरणलाई थप पवित्र बनाएको छ । राष्ट्रिय रुपमै महत्वपूर्ण यस मन्दिरसँग सम्बन्धित कयौँ प्राचीन उक्ति र किंबदन्ती पाइन्छन् । परापूर्वकालमा नजिकैको लटाउली गाउँका साँकी परिवारको जग्गामा किसानले हलो जोत्दै गर्दा फालीमा देवीको शिला अड्किएर निरन्तर रगतको धारा बगेको र आकस्मिक प्रकट भएकी देवीको रुपबारे किसानलाई थाहा भएपछि रगतलाई आफूले खान ल्याएको भोजन (खिचडी)बाट साम्य पारेको लोकश्रुति रहेको पुजारी दयाकृष्ण भट्ट बताउँछन् ।

कार्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष देवीको भव्य पूजाअर्चना सहित भव्य मेला लाग्ने उग्रतारामा परम्परा अनुसार विजयादशमी र नवरात्रीमा पनि भक्तजनहरु दर्शन गर्न आउने गरेका छन् । स्वयं प्राकाट्य शक्तिरुपी भगवती उग्रताराको दर्शन गरे सन्तानप्राप्ति,सुख शान्ति र समृद्धि प्राप्त हुने भक्तजनको विश्वास देखिन्छ ।

प्रायः वर्षभरी नै दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा दशैँको पावनतामा त दर्शनार्थीको ओइरो नै लाग्ने गर्दछ । धार्मिक र सांस्कृतिक मूल्यमान्यता बोकेका यस्ता सम्पदाको अझै संरक्षण र प्रचारप्रसार गर्न सके धर्म, संस्कृति र पहिचान त जोगिन्छ नै, त्यसका अलावा धार्मिक पर्यटनको पनि व्यापक सम्भावना देखिन्छ । 

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया