बस सुनकोसीमा खस्यो, एकजनाको मृत्यु, चार गम्भीर घाइते

news

सिन्धुली, असोज २६ । बीपी राजमार्गअन्तर्गत् सिन्धुलीको सुनकोसी गाउँपालिका–५, रिठ्ठेभीरबाट शुक्रबार यात्रीबस सुनकोसीमा खसेको छ ।

सडकबाट सुनकोसी नदीमा बस खस्दा एकजनाको मृत्यु भएको र सातजनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धारकार्य जारी रहेको छ ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना६ख ९१२ नम्बरको बस सुनकोसीमा खसेको हो ।

सुनकोसी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सातजनालाई उद्धार गरी उपचारका लागि धुलिखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिए ।

सो बसमा ८ जना सवार रहेको र सातजनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको उनले जानकारी दिए ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर र तीनजनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

उनीहरु सबैलाई उपचारका लागि धुलिखेल पठाइएको उनले जानकारी दिए । दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया