नेपालले सिंगापुरलाई ८१ रनमा रोक्यो

news

काठमाडौं, असोज २६ । मलेसियामा जारी आइसीसी ट्वेन्टी–२० विश्वकप छनोट क्रिकेटअन्तर्गत् एसियाली समूह ‘बी’को अन्तिम खेलमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा सिंगापुरले नेपाललाई विजयका लागि ८२ रनको चुनौती दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ ओभर ३ बलमा अलआउट हुनुपूर्व ८१ रनमात्रै बनाउन सक्यो । उसका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र करण केसीले समान २/२ विकेट झारे । करणले खेलको १६औं ओभरमा ह्याट्रिक गर्ने अवसर गुमाएका थिए । ललित राजवंशी र वसन्त रेग्मीले १/१ विकेट लिए ।

यो खेल जित्ने टोलीले उपाधि पक्का गर्नेछ । दुवै टोलीले यसअघिका सबै ५ खेल जित्दै समान १० अंक जोडेका छन् । नेट रनरेटमा भने नेपाल अगाडि छ ।

मलेसियामा जारी प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसियाले दोस्रो चरणको छनोटमा स्थान बनाइसकेका छन् । यी तीन टोलीले एसियाली छनोटको दोस्रो चरणमा अर्को समूहबाट आउने टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यहाँबाट छानिने टोलीहरुले टी–२० विश्वकपको ग्लोबल छनोट खेल्नेछन् । १४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया