७० प्रतिशत हिंसाको कारक मदिरा : गृहमन्त्री

news

काठमाडौं, असोज २६ । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताएका छन् ।

गृह मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तरक्रियामा उनले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताए ।

‘सबै प्रकारका अपराध निस्तेज नगरेसम्म समृद्ध नेपाल निर्माण हुनसक्दैन’–उनले भने ।

गृहमन्त्री थापाले विकास, समृद्धि, सुशासन र शान्तिको उच्चतम् अवस्था समाजवादको लक्ष्य पूरा गर्न सरकार र जनता एकजुट हुनुपर्ने बताए ।

‘मुलुकमा अझैसम्म पनि अशान्ति र द्वन्द्व निम्त्याउने तत्व सक्रिय भइरहेका छन् । त्यसतर्फ हामी सजग हुनुपर्छ’–गृहमन्त्री थापाले भने ।

उनले ७० प्रतिशत हिंसाको कारक मदिरा नियन्त्रणमा जुट्नु जरुरी रहेको उल्लेख गरे ।

हिंसा रोक्न स्थानीयस्तरबाटै जनता परिचालन गरेर आन्दोलन र अभियान सन्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले मदिरा नियन्त्रणका लागि वडामा कति पसल सन्चालन गर्ने र कुन–कुन समय बिक्री–वितरण गर्ने भन्नेबारे स्थानीय क्षेत्रले योजना बढाएर अगाडि बढ्नुपर्ने बताए ।

गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीले लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा निवारणका लागि मन्त्रालयले गरिरहेको कामकाबारेमा जानकारी दिएका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह र प्रहरीसँगसँगै हुनुपर्ने बताए ।

‘हिंसा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा सीसी क्यामरा जडान गरेको छ’–उनले भने ।

उनले महानगरपालिका काठमाडौं क्षेत्रमा भएको जथाभावी पार्किङ हटाउन र ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यकामा मदिरा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरिरहेको काम र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी दिएका थिए ।

सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तिले महिला तथा बालबालिका हिंसा, लागुऔषध र मदिरा नियन्त्रणका लागि आ–आफ्नो राय–सुझाव दिएका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया