महाभारतकी कुन्ती-२७

news

-हरिविनोद अधिकारी

जब मेरा छोराहरु र बुहारीले बाह्र वर्ष वनबास र एकवर्ष गुप्तबास समाप्त गरे, त्यसमा पनि खैलाबैला भयो । पूरा तेह्रवर्ष नपुगी पाण्डवहरु सार्वजनिक भए भनेर फेरि बाह्र वर्षको वनबास जानै पर्ने तर्क दुर्योधनको थियो र यसमा शकुनि दाइको धेरै समर्थन थियो । कर्णको कुरा त्यति थाहा भएन तर कर्णको पनि चाहना भने सकेसम्म पाण्डव र कौरबको युद्ध नहोस् भन्ने भित्र मनमा भए पनि बाहिर भने ऊ दुर्योधनकोे कुरा काट्न चाहँदैन थियो रे । तर उसलाई के पनि थाहा थियो भने जता कृष्ण लाग्नेछन्, त्यसैको जय हुनेछ । र पनि आफ्ना विषादका दिनमा साथ दिने दुर्योधनलाई छोड्न पनि नचाहने, सकेसम्म दुर्योधनको इच्छा विपरीतका सल्लाह पनि नदिने रणनीतिमा देखिन्थ्यो भन्ने देवर विदुरको धारणा थियो ।

सायद विदुरलाई पनि कर्ण मेरो छोरो भन्ने थाहा थियो क्या रे, कहिल्यै पनि कर्णका वारेमा टिप्पणी गरेको मैले सुनिन । बरु गान्धारी दिदी बारम्बार कर्णका वारेमा नकारात्मक धारणा राख्नुहुन्थ्यो, आफ्नो दाजु शकुनिका वारेमा भन्दा । दिदी भन्नुहुन्थ्यो-यो राधेयले मेरो छोरालाई युद्धका लागि उचाल्छ किनभने यसलाई आफ्नो युद्धकला देखाउनु छ र मेरो दुर्योधनलाई युद्ध आफू एक्लैले जितेर देखाउने कुरामा विश्वस्त पारेको छ । मेरो छोरो कुरै बुझ्दैन, लहै लहैमा लाग्छ । दिदीको मनमा पनि कता कता युद्धद्वारा नै विवादको छिनोफानो होस् भन्ने हुनुपर्छ किनभने दिदीलाई यो हस्तिनापुरले अपहरण शैलीमा विवाह गरेको थियो किनकि उहाँबाट १०० ओटा छोरा जन्मने कुराको सुइँको हस्तिनापुरले पाएको थियो । त्यो बेलामा हस्तिनापुर भनेको पितामह एक्लै हो र सन्तानको कमी भएको हस्तिनापुरमा एउटै रानीबाट सयभाइ छोरा हुने कुराले एउटा कुतकती जगाएको बुझ्न सकिन्थ्यो । सायद व्यासले पाण्डुबाट कुनै सन्तान नहुने कुराको  जानकारी पितामहलाई दिइसकेको बुझ्न कठिन थिएन ।

एउटा अचम्भको वैचारिक मिलन र ऐक्यबद्धता थियो हाम्रो । पाण्डव पक्षका र कौरब पक्षका बीचमा । वास्तवमा हामी सबै त कौरब नै थियौँ तर सजिलो के मानियो भने दुर्योधनआदि कौरब भनिए , पाण्डुका सन्तान पाण्डव भनिए । त्यसै भनियो, त्यस्तै प्रचार भयो र मेरा छोराहरुलाई पाण्डवका रुपमा चिनियो र जेठाजुका छोराहरुलाई कौरबका रुपमा चित्रित गरियो, त्यही नै परिचय भयो । नत्रभने कुरुका सन्तान सबै त कौरब नै त थियौँ नि ।

अब्यक्त रुपमा नै युद्ध अपरिहार्य भन्ने वारेमा एउटै धारणा कसरी बन्यो भने हामील सबैलाई युद्धले मात्र न्याय दिनेछ भन्ने अपेक्षा रह्यो । पाण्डवलाई उनीहरुको राज्य नदिन पनि उनीहरुलाई हराउनु जरुरी सम्झने दुर्योधनहरु र यदि आफ्नो भाग राज्य नदिए मागेर भन्दा लडेर भए पनि न्याय प्राप्त गर्ने पाण्डवको चाहना स्पष्ट बुझिन्थ्यो । त्यसमा आफ्नै जेठाजु  तथा सिँहासनारुढ राजा धृतराष्ट्र पनि युद्धका वारेमा सकारात्मक हुुनुहुन्थ्यो जसरी पनि भाइका छोराहरुलाई राज्यको एक टुक्रा पनि दिनु नपरोस् । त्यसको वैचारिक प्रतिनिधित्व वीर तथा सक्षम छोराहरु दुर्योधन र दुःशासनले गर्थे ।

सधैँको विवाद, झकझकबाट दिक्क भएर पितामह पनि हस्तिनापुर जसको भए पनि एउटैको होस् भनेर भित्रभित्रै युद्धको पक्षमा हुनुहुन्थ्यो जस्तो लाग्थ्यो किनभने युद्धको परिणाम पाण्डवको पक्षमा हुने कुरा उहाँलाई थाहा थियो विभिन्न उपायले । खासमा त ससुरा व्यासले नै आफ्ना दाजु देवव्रतलाई भनेको जस्तो लाग्छ । खासमा परिणामका वारेमा पितामह एकदम विश्वस्त हुनुहुन्थ्यो र पनि हस्तिनापुरका औपचारिक राजाका विपक्षमा लाग्न उहाँलाई देखावटी नैतिकताले बाँधेको भनेर बारम्बार विदुरसँग गुनासो गर्नुहुन्थ्यो रे । उहाँ त्रिकालदर्शी हुनुहुन्थ्यो किनभने स्वयं वसुको मनुष्य अवतारको रुपमा गङ्गाको गर्भबाट जन्मनु भएको थियो । उहाँको इच्छा मरण थियो उत्तरायणमा मात्र परमधाम जाने । र उहाँलाई के पनि थाहा थियो भने द्रुपदपुत्र उभयलिङ्गी शिखण्डी अम्बाकी पुनर्जन्मबाट जन्मिएकी क्लीव पात्र थिए र उनैलाई अघि राखेर कृष्णले उनको देह पतन गराउने योजनाका वारेमा जानकार हुनुुहुन्थ्यो रे । राजगृहमा द्रोण र कृपाचार्यसँग शिक्षा लिन शिखण्डी र धृष्टद्युम्न आदि आएका थिए र पितामह सबैभन्दा शिखण्डीको शिक्षामा ध्यान दिनुहुन्थ्यो रे ।

धृष्टद्युम्नका लागि पनि युद्ध जरुरी थियो, शिखण्डीका लागि पनि युद्ध आवश्यक थियो, कर्णका लागि पनि युद्ध आवश्यक थियो । शकुनि दाइ त अपमानका आगोमा यसरी जलिरहनु भएको थियो कि कौरबको वंश नाश नै उहाँको एकमात्र अभीष्टता थियो किनभने कौरवरुपी डुङ्गालाई उहाँ पाण्डवरुपी ढुङ्गामा लगेर चकनाचुर पार्न चाहनु हुन्थ्यो । पूरै गान्धार राज्य छोडेर उहाँ कौरव र पाण्डवका बीचमा जसरी हुन्छ, विषवृक्ष रोपेर एकदिन त्यो बृक्ष डढेर खरानी होस् भन्ने चाहना थियो । उहाँको रीस सबैभन्दा बढी पितामहसँग र आफ्ना ज्वाइँ धृतराष्ट्रसँग थियो । अरु त अरु, दाजु शकुनिले आफ्ना युवराज उलूकसमेतलाई पनि हस्तिनापुरका दरबारमा ल्याएर राजदूतको काम गराउनु भएको थियो । उलूक नै गएको थियो कौरबका तर्फबाट पाण्डवसँग कथित शान्तिवार्ताका लागि । शान्तिवार्ता के थियो र, सियोको टुप्पो बराबर पनि राज्यको जमिन नदिने सन्देश दिन गएको थियो । त्यसैको बदला नै भन्नुप¥यो, गुरु धौम्य आउनु भयो, द्रुपदका पुरोहित आउनु भयो अनि कृष्ण शान्ति सन्देश लिएर आएको थियो ।

राजगुरु द्रोणाचार्यलाई पनि के थाहा थियो भने धर्म पाण्डवका पक्षमा छ, म आफू मर्दिन, युद्ध नभई नसक्ने भएपछि कसको राज्य भन्ने विवाद युद्धले नै निर्धारण गरोस् भन्ने थियो । गुरु द्रोणाचार्यलाई के पनि थाहा थियो भने उहाँको मृत्युका कारक भनेको धृष्टद्युम्न नै हो भन्ने थाहा थियो र पनि आफू चिरञ्जीवी पुत्र अस्वत्थामाका पिता भएको अनि छोराको मृत्युको निश्चित खबर नभई उनको मृत्यु असम्भव भएकाले युद्ध होस् भन्ने चाहना थियो भन्ने म बुझ्न सक्थेँ । तर द्रोणाचार्यलाई कसरी आफ्नो मृत्यु होला भन्ने खासै भनक थिएन । तर केचाहिँ थाहा थियो भने कृष्णले यदि मार्न चाहे भने जसरी पनि यो संसारबाट विदा लिनै पर्छ । तै पनि आफूलाई आफ्ना चेलाहरुले मार्ने छैनन्, कृष्णले हतियार उठाउने छैनन् अनि अरु कसैले मलाई मार्न सक्दैनन् भन्ने विश्वास हुँदाहुँदै पनि द्रुपदपुत्र तथा पाण्डव सेनापति धृष्टद्युम्नका वारेमा भने उहाँले सुन्नु भएको थियो-राजा द्रुपदले विषादपूर्ण अवस्थामा यज्ञ गरेर जन्माएको छोरा र छोरी भनेका नै धृतराष्ट्र र कृष्णा हुन् जसले हस्तिनापुरको विवादमा निर्णायक भूमिका निर्बाह गर्नेछन् ।

कृष्णा अथवा पाञ्चाली अथवा द्रौपदी त कौरब र पाण्डवका बीचको वैमनस्यताको मुख्य कारण नै बनिन् तर कृष्णाले हतियार उठाउने छैनन् र युद्धमा उनलाई आउने अधिकार पनि नभएकाले द्रोणाचार्य एकप्रकारले अपराजित योद्धाको रुपमा नै आफूलाई सम्झनु हुन्थ्यो । तर म कसरी पराजित हुँला र पाण्डवले जित्लान् , त्यसबारेमा द्रोणलाई भ्रम थियो भन्ने कुरा विदुरले भन्ने गर्थे । अरु त अरु कौरव भित्रको वैश्य कुमारी पुत्र युयुत्सुसमेत पाण्डवका पक्षमा थियो र युद्धले मात्र पाण्डवहरुले न्याय पाउने कुरामा विश्वस्त थियो । कुलगुरु कृपाचार्य आफैँ चिरञ्जीवी हुनुहुन्थ्यो, उहाँका भानिज अस्वत्थामा चिरञ्जीवी हुनुहुन्थ्यो र भानिजको निधनको खबरले मात्र द्रोणाचार्यमा देखिने शोकले मात्र गुरुको निधन हुनुथियो । कृपाचार्यलाई पनि के थाहा थियो भने पाण्डवले युद्ध जित्नेछन् र पनि आफू जुन परिवारको कुलगुरु हुनुहुन्थ्यो, त्यहाँको निर्णयको उहाँले कुनै प्रतिवाद गर्नु मनासिब ठान्नु हुन्नथ्यो । र पनि विवादको अन्त्य एउटै उपाय भनेको युद्धले दिने न्याय नै उहाँको पनि सायद विचार थियो ।

विदुरको कुरा अर्कै थियो । उनलाई पहिले देखि नै दाजु धृतराष्ट्रका निर्णयहरुप्रति चित्त बुझेको थिएन र त उनी दाजुसँग झगडा गर्दै करिब करिब दरबारमा नजाने र कुने सल्लाह पनि नदिने विचारमा थिए । र भन्ने गर्थे-भाउजु, अन्त्यमा भयानक युद्ध हुन्छ, कौरवको नाश हुन्छ र तपाईँकै सन्तानले यो राज्य चलाउने छन् । उनी धर्मराजका अवतार थिए, कृष्णभक्त थिए, शिवभक्त थिए र त्रिकालदर्शी थिए । उनले वेदको अध्ययन नगरे पनि पिता व्यासबाट पाएका ज्ञान र विज्ञानका क्षमताले अद्भूत ज्ञानभण्डार उनीसँग थियो । उनी ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने हिम्मत राख्थे । जेठाजुलाई विदुर निल्नु न ओकल्नुका पात्र थिए । न सल्लाह मान्नु हुन्थ्यो, न सल्लाह लिन नै छोड्नु भयो । यसैमा दाजु भाइको विवाद हुन्थ्यो । कहिले महाराज धृतराष्ट्र भाइसँग छोराहरुका कारणले धुरुधुरु रुनुहुन्थ्यो तर विदुरको सल्लाह भने कार्यान्वयन गर्न रुचाउनु हुन्नथ्यो । अनि विदुर पनि धर्मयुद्ध होस् र धर्मको जय होस् भनेर एकान्तवास जस्तै बसेका थिए । कृष्ण जब म बसेको ठाउँमा आयो विदुरको घरमा , सायद विदुरको धारणा र मेरो धारणा बुझ्न पनि आएको थियो ।

कृष्णको कुरा बुझ्न त्यति सजिलो थिएन र पनि मसँग भने उसले कहिल्यै गलत वाचा पनि गरेन र यसै हुन्छ पनि भनेन । मैले महारानी विदुलाले आफ्ना छोराहरुलाई युद्धका लागि दिएको ललकार र उपदेश सबै सुनाएँ र भनेँ— म पनि त्यो दिनको प्रतीक्षामा छु बाबु, या त मेरा छोराहरुले राज्य जितून् र राजा होऊन्, होइन भने युद्ध भूमिमा नै वीरगतिमा प्राप्त होऊन् । मैले उनीहरुको जन्मदेखि नै जुन अपमान र वितण्डा खप्दै आएकी छु, आफ्ना पिताको राज्यको अधिकार प्राप्त गर्न जुन अपमान, दुःख र बर्बर यातना खप्न बाध्य भएका छन्, त्यसका लागि पनि शान्ति भन्ने कुरा फगत राजनीतिक बहानाबाजी मात्र हो । यदि सबै राज्य फिर्ता हुन्छ र दुर्योधन युवराज हुनका लागि राजी हुन्छ भने पनि शान्तिवार्ता धोखा हो । मेरै छोराहरुले नै यो राज्य गर्नुपर्छ । म क्षत्राणी हुँ, मेरा छोराहरु पनि धर्मराज, वायु, इन्द्र,अश्विनीकुमारहरुको अंशबाट जन्मेका हुन् र ती पाण्डुका क्षेत्रज छोराहरु हुन् ।

मैले भावावेशमा आएर भनेकी थिएँ-के द्रौपदीले पर सरेको बेलामा, मात्र एकसरो लुगामा राजसभामा भएको चीरहरण बिर्सिइन् ? दुःशासनको रगत तेलजस्तै गरी लगाएर मात्र कपाल कोर्ने उनको प्रतिज्ञा बिर्सिएकी त छैनन् ? के युधिष्ठिरले पनि पुराना सबै कुरा बिर्सियो ? अपमान, बेइज्जती, राज्य हरण, लाक्षागृह, वनबास, गुप्तबास, जुवा खेल्दा गरिएको छल ? अनि केको शान्तिवार्ता ? अनि भीम पनि शान्तिको कुरा गरेर बसेको छ त ? अनि जेठाजुका सयभाइलाई मार्ने उसको प्रतिज्ञा पनि उसले बिर्सियो ? अनि अर्जुनको गाण्डीवमा अब कुनै शक्ति बाँकी छैन र ? महादेवले दिएको शस्त्रास्त्र, इन्द्रले दिएको हतियार, गुरु द्रोणले सिकाएको युद्ध ज्ञान, अग्निले दिएको गाण्डीव र हनुमानद्वारा रक्षित रथ के सबै अब काम नलाग्ने भएर नै या कौरबले दिएको दुःख के अर्जुनले बिर्सिएको हो र अनि यो शान्तिवार्ताका लागि भाइ तँ आएको ? अनि ती मेरा महसुर छोराहरु नकुल र सहदेव पनि युद्ध गर्नु हुँदैन भन्दै युधिष्ठिरलाई सल्लाह दिन्छन् कि ? कृष्ण, धेरैलाई थाहा छैन यो कुरा । महाराज पाण्डुको क्षमता अचम्भको थियो, युद्धकलामा त झन कति निपूण भने उहाँको रणनीति कहिल्यै खेर गएन ।

जब महाराज पाण्डुको शव जलाउने बेला भयो, माद्रीले आफू सती जाने कुरा गरेपछि म सम्झाउन थालेँ, तिमी होइन म पो सती जाने त ? अनि ऋषिहरुले एउटा सल्लाह दिए—जसले पाण्डुको गिदी खानेछ, त्यो त्रिकालदर्शी हुनेछ । अरुले खान मानेनन् , सहदेवले भनेको मानेर खायो । तत्काल उसमा त्यो त्रिकालज्ञको क्षमता आयो । अनि त्यो सहदेव पनि युद्धको परिणाम अहिले नै देख्छ, त्यो पनि युद्ध नगरौँ भन्छ र ? नकुलको छातीमा जुन आगो दन्केको थियो जुवामा हार्दा र वनबासमा जानुपर्दा । अहिले पनि के उसको धारणामा कौरब शान्तिका लागि तयार हुन्छन् भन्ने लागेको छ र ? अनि सम्धी द्रुपदलाई यही मौकामा गुरु द्रोणाचार्यसँग बदला लिने कुरा सम्झनामा आएको छैन ? अनि शिखण्डीलाई पितामहसँग बदला लिनु छैन? अनि धृष्टद्युम्न जुन कामका लागि यो पृथ्वीमा आएका हुन्, त्यो काम पनि के शान्तिवार्ता भएर केही गाउँ पाण्डवले पाए पछि समाधान हुन्छ रे त ?

मलाई अहिले पनि याद छ, मेरा कुरा जसरी एउटा यजमानले आफ्ना व्यासासनमा बसेका गुरुको विना सबाल जबाफ सुन्छ, त्यसैगरी सुन्यो कृष्णले र मुसुमुसु हाँस्यो र भन्यो-फुपू, मलाई आज थुन्न आँटेको थियो दुर्योधनले । अनि मैले पनि भनेको छु, यसको जबाफ शीघ्र पाउने छौ । के गर्नु दिदी, दुर्योधनलाई मार्न पनि मैले भएन, त्यो त भीमको जिम्मामा छ नि त । फेरि ज्वाइँ पनि त हो । नियतिको कुरा नियतिका हातमा मैले छोडेको छु । तपार्इँले भनेको सबै कुराले के देखाउँछन् भने युद्ध हुन्छ जस्तै छ । म त अहिले शान्तिदूत भएको छु । तपार्इँका कुरा सबैलाई सभामा भन्नेछु, एकान्तमा पाण्डव र द्रौपदीलाई भन्नेछु ।

अनि मलाई लागेको थियो, पक्कै युद्ध हुन्छ । मलाई युधिष्ठिरको डर थियो किनभने ऊ भावावेशमा आएर सांसारिक मोहबाट टाढा जान खोज्छ । भीम र अर्जुनको मलाई आड भरोस थियो । तर त्यही अर्जुनले युद्धको पहिलो दिन नै हतियार राखेर कृष्णलाई म त युद्ध लड्दिन भनेछ । अनि कृष्णले सम्झाइ बुझाइ गरेर युद्धका लागि तयार गरेछ र मात्र । भन्छन्कृ-ष्णले भविष्यको सबै कुरा पनि सम्झायो रे र आफ्नो विशाल रुप पनि देखायो रे ।

हाम्रो परिवारमा एउटा आड भरोस लायक व्यक्ति भनेको नै त्यही कृष्ण हो वासुदेव । कि व्यास कृष्ण हुनुहुन्छ । अरु त उही अर्जुन कृष्ण हो । तीन कृष्णको चरित्रले मात्र युद्ध जितियो, युद्धबाट सिर्जित अविश्वासलाई विश्वासमा लैजान अश्वमेध यज्ञ गरियो । अन्तिम अवस्थामा पनि मलाई शान्तिवार्ता बिथोलिएकोमा गर्व छ किनभने मेरो कुरालाई कृष्णले गम्भीरताका साथ लियो र युद्ध अपरिहार्य गरायो । धन्य कृष्ण तेरो लीला अपरम्पार छ । क्रमशः

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया