महिला विश्वकप क्रिकेटमा वेष्ट इन्डिजद्वारा दक्षिण अफ्रिका पराजित

news

काठमाडौं । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेटमा आयोजक वेष्ट इन्डिजले लगातार दोस्रो जित हात पारेको छ ।

सेन्ट लुसियामा आज बिहान भएको खेलमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई ३१ रनले हरायो ।

खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन जोड्यो ।

उसका लागि काईसिया नाईटले सर्वाधिक ३२ रन जोडिन् । बलिङतर्फ दक्षिण अफ्रिकाकी शब्नम ईस्माईलले ३ विकेट लिइन् ।

जवाफमा १ सय ८ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिकाले खेलमा ८ बल बाँकी छँदा अलआउट हुनुपूर्व ७६ रन मात्रै बनाउन सक्यो ।

जितसँगै वेष्ट इन्डिज २ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

३ अंक जोडेका इङ्ल्यान्ड र श्रीलंका क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

गएराति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २५ रनले हरायो ।

पहिलो खेल वर्षाले अबरुद्ध भएपछि इङ्ल्यान्डसँग अंक बाँडेको श्रीलंकाले दोस्रो खेलमा बंगलादेशमाथि सहज जित निकालेको हो ।

सेन्ट लुसियामा जितका लागि ९८ रनको लक्ष्य पछ्याएको बंगलादेश ७२ रनमै अलआउट भयो ।

टोलीका लागि निगर सुल्तानले बनाएको २० रन सर्वाधिक रह्यो ।

यसअघि, पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९७ रन बनायो । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...