मनाङले एनआरटीलाई हरायो

news

काठमाडौं, मंसिर १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको पहिलो खेलमा मनाङ–मर्स्याङ्दी क्लब विजयी भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्यूरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १७औं मिनेटमा अन्जन विष्टको पेनाल्टी गोलमार्फत् मनाङले अग्रता लिएको थियो । अन्जनलाई एनआरटीका खेलाडीले डी बक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो ।

खेलको ३९औं मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलाव अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि गोल गर्ने धेरै अवसर गुमाएको थियो ।

एनआरटीले भने पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन ।

खेलमा मनाङका अन्जनले ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

जितसँगै मनाङ दुई खेलबाट ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट एनआरटीको १ अंक छ ।

मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले हराएको थियो । एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...