रत्नजित र नङ्शलले जिते उपाधि

news

काठमाडौं, मंसिर १ । पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले जितेका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका दिपेश धामीलाई २१–११ र २१–१६ का सोेझो सेटमा पराजित गर्दै रत्नले सातौंपटक उपाधि चुम्दै इतिहास रच्न सफल भएका हुन् ।

उपाधिसँगै रत्नजितले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उपविजेता दिपेशले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फको उपाधि आर्मीकी नङ्शलदेवी तामाङले जितिन् । उनले आर्मीकै रशिला महर्जनलाई २२–२०, १५–२१ र २१–१८ ले पाखा लगाइन् ।

विजेता नङ्शलले ५० हजार र उपविजेता रशिलाले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै, पुरुष युगलतर्फको उपाधि आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले जित्यो ।

महिला युगलतर्फको उपाधि सशस्त्रका पूजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले हात पार्‍यो ।

यु–१७ ‘ब्वाइज’तर्फ सिल्क ग्रुपका प्रिन्स दाहालले आर्मीका दिवस शंकरलाई हराउँदै उपाधि जिते ।

यु–१७ ‘गर्ल्स’तर्फको उपाधि आर्मीकी रशिला महर्जनले जितिन् । उनले आर्मीकै रञ्जना भट्टलाई पराजित गरिन् ।

यस्तै, मास्टर्स ४५ वर्षमाथिको उपाधि आर्मीका सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडीले कब्जा गर्‍यो ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्टलगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल खेलकुद महासंघअन्तर्गत् राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...