हत्या गरिएका राजाबाबुको चारबुँदे सहमतिपछि अन्त्येष्टि

news

बासुदेव बर्मा

कपिलबस्तु, मंसिर ९ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका–४ मोतीभारीका दिपेन्द्र कुमार चौधरी (राजाबाबु) को हत्याको विरोधमा आन्दोलनरत पक्ष र सरकारबीच चार बुँदे सहमतिभएको छ । सहमतिसँगै शवको आज अन्त्येष्टि गरिएको छ ।

शुक्रबार राति गोली हानी हत्या गरिएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता दिपेन्द्रकुमार चौधरी (राजाबाबु)को आइतबार साँझ अन्येष्टि गरिएको हो ।

सहमति भएपश्चात राजाबाबुको शव परिवारले बुझ्दै अन्त्येष्टिका लागि सहमत भएका कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले जानकारी गराए ।

आइतबार दिउँसो जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासनबाट गृह मन्त्रालयमा पठाइएको उनले जानकारी गराए ।

आइतबार दिनभर कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी पोख्रेल, प्रहरी प्रमुख अच्युत पुडासैनीसहित पीडित परिवारका सदस्यहरूबीच सहमति भएपछि चौधरीको शवको अन्त्येष्टि गर्न परिवार सहमत भएका हुन् ।

सहमतिअनुसार हत्यामा संलग्नलाई यथाशिघ्र कानुनी दायरामा ल्याउने, मृतकलाई शहीद घोषणा गर्ने, राज्यले दिने क्षतिपूर्ति रकम तत्काल उपलब्ध गराउने लगायतका चारबुँदे सहमति भएको हो । 

चौधरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कपिलबस्तुका प्रहरी उपरीक्षक अच्युत पुडासैनीले जानकारी दिए । प्रहरीका अनुसार पीडित पक्षले आइतबार दिउँसोमात्रै शुद्धोधन गाउँपालिका–४ मोतिभारीका अजित पाण्डेयसहित ७ जनाबिरुद्ध किटानी जाहेरी दिएका छन् ।

प्रहरीले हत्यामा संलग्न अजित पाण्डेयका दाजु अमित पाण्डेय र भाइ रामकृष्ण पाण्डेलाई पक्राउ गरेको छ ।

युवा नेता राजाबाबु चौधरीको शुक्रबार राति ९ बजे शुद्धोदन गाउँपालिका वडा नं.–४, मोतीभारीमा गोलीप्रहारबाट हत्या गरिएको थियो । टाउकोमा गोली लागेका चौधरीको रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा उपचारका लागि लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...