परम्परागत शैलीका घर निर्माण गर्नेक्रम ह्वात्तै घट्यो (भिडियो रिपोर्ट)

news

काठमाडौं, मंसिर १२ । पछिल्लो समय मौलिक नेपाली शैलीको घर निर्माणमा ठूलो ह्रास आएको छ ।

मौलिक चिनारी झल्कने घर निर्माणमा सर्वसाधारणको रुचि त घटेकै छ, सरकारले आफैंले बनाउने भवनमा पनि त्यसको झल्को पाइँदैन ।

नेपाली मौलिकस्वरुपको घर बनाउने कालिगढ र निर्माण सामग्री पाउन पनि अब कठिन भएको छ । बस्तीहरु विदेशी शैलीमा ठडिएका छन् ।

समयले कोल्टे फेरेसँगै समाजमा बस्ने मानिसको रहन–सहन पनि परिवर्तन हुनु अस्वाभाविक होइन । तर, आफ्नो देशको परम्परा र कला–संस्कृति नै बिर्संदै जानु राम्रो पनि होइन ।

घर निर्माणको नेपालको आफ्नो छुट्टै मौलिक एवं विशिष्ट परम्परा छ । तर, पछिल्लो दशक परम्परागत शैलीको घर निर्माण गर्ने चलन ह्वात्तै घटेको छ । भएका पुराना व्यक्तिगत र सरकारी भवनहरु पनि जीर्ण हुँदै, मासिँदै गएका छन् ।

नेपाली कला झल्कने घरहरुको संरक्षणतर्फ न सरकार न व्यक्तिगत कसैको पनि चासो देखिँदैन । आममानिस परम्परागतभन्दा विदेशी शैलीको घर निर्माणतर्फ आकर्षित हुँदैछन् ।

नेपाल सरकारका पूर्वसचिव एवं इन्जिनियर किशोर थापा मौलिक नेपाली शैलीको घर बनाउने कालिगढ र आवश्यक निर्माण सामग्री नहुँदा परम्परागत घरहरु मासिँदै गएको बताउँछन् ।

सर्वसाधारणले नेपाली शैलीलाई बिर्संदै गएपनि सरकारीस्तरबाट यसको संरक्षण हुनुपर्ने हो । तर, अहिले निर्माण हुने कुनैपनि सरकारी कार्यालयमा नेपाली मौलिकपनलाई ध्यान दिएको पाइँदैन ।

पर्यटकीय र सांस्कृतिक क्षेत्रमा एकाध परम्परागत शैलीका घर बन्ने गर्छन् । तीनले नेपालीपन जोगाउनसक्ने देखिँदैन ।

आधुनिक डिजाइनका घर बनाउँदा खर्च कम लाग्ने हुँदा सर्वसाधारणको आकर्षण त्यतैतिर देखिन्छ । सरकार भने परम्परागत शैलीलाई जोगाउनेतर्फ आफ्नो ध्यान गएको दाबी गरिरहन्छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की परम्परागत शैलीका घर निर्माणलाई प्रोत्साहन गर्न महानगरपालिकाले विशेष योजना तयार गरिहेको बताउँछन् ।

सरकारले मौलिकता झल्कने घरको निर्माणकार्यलाई प्रोत्साहन र प्राथमिकता दिने हो भने यस्ता घर निर्माण गर्नसकिने पूर्वसचिव थापा बताउँछन् ।

सहरका मुख्य चोक, पर्यटकीयस्थल र प्राचीन बस्तीहरुमा परम्परागत नेपाली शैलीका घर निर्माण गर्न सरकारले प्रोत्साहन गर्ने हो भने विदेशीमाझ हाम्रो चिनारी पस्कन सकिने थियो ।

केही नगरपालिकाले परम्परागत शैलीका घर निर्माणमा अनुदान उपलब्ध गराउनसमेत थालेका छन् । तर, त्यति प्रयासलेमात्र पुग्ने देखिँदैन ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...