मुटुको बाथको निःशुल्क उपचार प्रभावकारी (भिडियो)

news

प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, मंसिर १२ । सरकारले २०७३ साल फागुन १ गतेदेखि मुटुको बाथको उपचार निःशुल्क गरेसँगै धेरैले सहयोग पाइरहेका छन् ।

कमजोर आर्थिक अवस्था भएका विपन्न नागरिकले राम्रो उपचार पाउन् भन्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रम निकै प्रभावकारी बनेको छ ।

काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट हालसम्म ९६१ जनाले निःशुल्क मुटुकोे बाथरोगको उपचार गराइसकेका छन् ।

यसका लागि हृदय केन्द्रमामात्र गत आर्थिक वर्ष २०७४/७५ मा १७ करोड ७७ लाख तीन हजार ४३ रुपैयाँ पठाइएको थियो ।

यस्तै, यस आर्थिक वर्षको प्रथम त्रैमासिकमा तीन करोड २० लाख २१ हजार ५३ रुपैयाँ पठाएको छ । जसबाट १६० जनाले निःशुल्क उपचार पाएका छन् ।

२०७३ साल फागुनदेखि देशभरका सरकारी अस्पतालहरुमा यो सेवा सुरु भएको थियो ।

कमजोर आर्थिक अवस्थाका रोगीलाई लक्षित गरी दिइएको यस सेवामा शल्यक्रिया, औषधि र बेड खर्च निःशुल्क रहेको छ ।

सरकारले उपचार निःशुल्क गरेसँगै अस्पतालमा बिरामीको चाप बढेको छ । २०० शय्याको राष्ट्रिय हृदय केन्द्रमा बिरामीले बेड नै नपाएर फर्कनुपरेको गुनासो गर्ने गरेका छन् ।

निःशुल्करुपमा उपचार पाएका सर्वसाधारण सरकारले नयाँ जीवन दिएको भन्दै निकै खुसी छन् ।

स्ट्रप्टोकोक्कस ब्याक्टेरियाले घाँटीमा संक्रमण गरे त्यसले विस्तारै मुटुको भल्बमा असर गर्न थाल्छ । जसलाई मुटुको बाथ भनिन्छ ।

मुटुको भल्ब बिग्रेका व्यक्तिमध्ये धेरैको शल्यक्रिया गर्नुपर्छ भने सामान्य क्षति भए औषधि खाएर चिकित्सकीय निगरानीमा रहनुपर्छ । तर, एकपटक भल्ब बिग्रन थालेको छ भने त्यो पूर्णरुपमा निको भने हुँदैन ।

बाथ मुटुरोगकै कारण ९५ प्रतिशत व्यक्तिमा भल्ब बिग्रने चिकित्सकहरु बताउँछन् ।

मुटुको बाथ सामान्यतयाः पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिन्छ ।

धूमपान, मद्यपान सेवन नगर्ने, शारीरिक व्यायाम गर्ने, संक्रमण हुनबाट बच्ने हो भने पनि यस रोगबाट बच्च सकिन्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...