कुल मागको ४० प्रतिशतमात्र स्वदेशी औषधि (भिडियो)

news

प्रतीक्षा खनाल र उत्तम मानन्धर (इमेज)

काठमाडौं, मंसिर १२ । नेपालमा व्यावसायिकरुपमा औषधि उत्पादन सुरु भएको आधाशताब्दी पुग्न लाग्दा पनि औषधि उत्पादनमा देश अझै आत्मनिर्भर हुन सकेको छैन ।

कुल मागको ४० प्रतिशतमात्र स्वदेशी औषधि रहेको छ भने बाँकी विश्वका विभिन्न मुलुकबाट आयात गरिन्छ ।

नेपालका केही स्वदेशी औषधि उत्पादक कम्पनीले बजारमा राम्रो उपस्थिति देखाउन सफल भएपनि कुल मागको आधाभन्दा बढी औषधि अझैपनि आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

गत वर्षमात्र २७ अर्ब रुपैयाँभन्दा बढीको औषधि आयात गरिएको थियो । जुन नेपालको औषधि खपतको करिब ५८ प्रतिशत हो ।

नेपालमा उत्पादित औषधिका लागि बजार पर्याप्त भएपनि निकट भविष्यमा औषधि उत्पादनमा देश आत्मनिर्भर हुने सम्भावना भने नरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल बताउँछन् ।

नेपालको प्रथम औषधि उद्योग केमी ड्रग्स इन्डस्ट्रिज प्राइभेट लिमिटेडको स्थापना वि.सं. २०२७ सालमा भएको थियो ।

त्यसलगत्तै सरकारी स्वामित्वमा शाही औषधि लिमिटेडको स्थापना भयो । त्यसयता थुप्रै निजी उद्योग सन्चालनमा आएका छन ।

तर, विश्व स्वास्थ्य संगठनले गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) अनिवार्य गरेपछि मापदन्ड पूरा नगर्ने उद्योग बन्द भएका छन् ।

नेपालमा उक्त मापदन्ड पूरा गरेका ५८ ओटा औषधि उद्योग सन्चालनमा छन् । जसबाट करिब ८ हजार प्रकारका औषधि उत्पादन हुँदै आएको छ । विदेशबाट भने करिब ९ हजार प्रकारका औषधि आयात हुने गरेको छ ।

भ्याक्सिनलगायतका जैविक औषधि र नयाँ विकास गरिएका औषधिहरुको उत्पादन पनि देशमा नहुने भएकाले आयातमा कमी आउन अझै समय लाग्ने ढकाल बताउँछन् ।

आयातमै भरपर्नुपर्दा बेला–बेलामा यस्ता औषधिको अभावको सामना गर्नुपर्ने बाध्यता रहेको पनि उनले बताए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...