अपहरण गरेको डेढ घन्टाभित्रै बालकको हत्या, यस्तो छ ‘अभियुक्तको बयान’ (भिडियो)

news

काठमाडौं, मंसिर १३ । काठमाडौंको गोंगबु, मित्रनगरबाट दुई दिनअघि हराएका ८ वर्षीय बालक प्रयास कुँवरको शव हत्या गरेको अवस्थामा बिहीबार फेलापरेको छ ।

म्हेपीस्थित पुलमुनि झोलामा फालेको अवस्थामा बालकको शव फेलापरेको हो ।

मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेस्टहाउसका सन्चालक प्रवीण कुँवरका छोरा प्रयास गत मंगलबार साँझदेखि हराएका थिए ।

बालकको अपहरणपछि हत्याको आरोपमा प्रहरीले सोही गेस्टहाउसका ड्राइभर स्याङ्जाका २२ वर्षीय महेन्द्र सार्कीलाई पक्राउ गरेको छ ।

सार्कीलाई बिहीबार बिहान पक्राउ गरेपछि उनकै बयानको आधारमा बालकको शव फेलापरेको प्रहरीले जनाएको छ ।

अपहरण गरेको डेढ घन्टाभित्रै बालकको हत्या गरेको बयान अभियुक्त सार्कीले दिएको प्रहरीले जनाएको छ ।

प्रयास गोंगबु टाउन प्लानिङस्थित बेलमेन्ट स्कुलमा कक्षा–१ मा पढ्दै आएका थिए ।

गत मंगलबार उनी स्कुलबाट फर्केपछि सार्कीले चकलेट दिएर फकाएको र आफूसँगै लगेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

सार्की डेढ महिनाअघिमात्रै काम खोज्दै गेस्टहाउसमा पुगेका थिए । स्याङ्जाका प्रवीण कुँवरले जिल्लावासी भन्दै सार्कीलाई ड्राइभर राखेको जनाइएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...