४२ फर्मविरुद्ध झन्डै ६ अर्ब राजश्व छलीको मुद्दा दायर

news

काठमाडौं, मंसिर २४ । राजश्व अनुसन्धान विभागले झन्डै ६ अर्ब रुपैयाँ बिगोसहित ४२ फर्मविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले सोमबार पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो ।

विभागले ४२ ओटा फर्म र संस्थाका ७७ व्यक्तिविरूद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको हो ।

विभागले बिगो र सजाय गरी पाँच अर्ब ७७ करोड १७ लाख रुपैयाँ माग दाबी गरेको जनाएको हो । यी फर्ममध्येबाट तीन अर्ब २७ करोड ५२ लाख धरौटी रकम माग गरेको छ ।

यी फर्मबाट २२ करोड ५७ लाख ९८ हजार धरौटीबापतको रकम दाखिला भएको पनि विभागले जनाएको छ ।

राजश्व छलीमा मुद्दा चलाइएकामध्ये ८ जना राजस्व प्रशासनका कर्मचारी रहेका छन् ।

ख्यातीप्राप्त ‘एडिडास’ ब्रान्डका सामान पैठारीमामात्र ७५ करोड राजश्व छली भएको विभागको ठहर छ ।

विभागले गत साउन १५ गते रसुवाबाट जाँचपास भएका गाडी समातेको थियो ।

एउटै सवारी–साधनको सामानबाट ७ करोड ५९ लाख बिगो र जरिवाना दाबी गरिएको विभागले जनाएको छ ।

छलीमा भन्सार अधिकृत पवित्रकुमार खड्का, भन्सार जाँचकी धीरजकुमार थापा, सुमन श्रेष्ठ, रन्जनकुमार त्रिपाठीविरुद्ध मुद्दा दायर गरिएको हो ।

सोही  कार्यमा संलग्न सामान पैठारी तथा ढुवानी गर्न ट्रक उपलब्ध गराउने धनबहादुर तामाङ र डम्बरबहादुर श्रेष्ठलाई ऐनअनुसार आधा सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

रसुवा भन्सार कार्यालयबाट गत आर्थिक वर्षको ४ महिनामा ८५ करोड ८० लाख भन्सार संकलन गरिएकोमा यस वर्ष भने सोही अवधिमा तीन अर्ब ७४ करोड ९३ लाख भन्सार असुली गरिसकेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले कानुनको कार्यान्वयनमा जोड दिने र अनुसन्धान विभागले व्यवसायीहरुमाथि पनि निगरानी गरिरहेको बताए ।

राजस्व बुझाउने व्यक्तिहरुलाई बिल र बिजक लिन उनले आग्रह गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...